बर्दिया । तिहार पर्वलाई लक्षित गर्दै राजापुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख मनकला कुमारी चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले शुक्रबार राजापुर बजार क्षेत्रका विभिन्न किराना पसल, मिठाई पसल र उपभोग्य वस्तु बिक्री गर्ने व्यापारिक स्थलहरूमा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने म्याद गुज्रेका सामानको बिक्री–वितरण रोक्न चेतावनी दिइएको र केही वस्तुहरू तत्काल जफत गरिएको उपप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार बजारमा उपलब्ध खाद्य पदार्थको गुणस्तर, मूल्य सूची, तौल मापनका उपकरण र पसलको स्वच्छतासम्बन्धी अवस्थाको समेत निरीक्षण गरिएको छ ।
अनुगमन टोलीमा रोजगार शाखा प्रमुख रमेश पौडेल, शाखा उपप्रमुख यमकुमार परियार, विपद् फोकल पर्सन खुशी राम चौधरी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता थियो ।
नगरपालिकाले गत वर्षको तुलनामा व्यापारीहरूले यस वर्ष बढी सतर्कता अपनाएको बताएको छ । तर, केही पसलहरूमा अझै पनि म्याद गुज्रेका खुद्रा सामान भेटिएको र तत्काल जफत गरिएको जनाइएको छ ।
नगर उपप्रमुख चौधरीले चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।























