राजापुर / जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू दिनप्रतिदिन गहिरिंदै गइरहेका सन्दर्भमा, राजापुर नगरपालिकामा समुदायमै आधारित भएर वातावरणीय अनुकूलन र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जलवायु उत्थानशीलता कार्यक्रम सन् २०२४ सम्मका लागि सञ्चालनमा रहेको छ।
उक्त कार्यक्रम प्राक्टिकल एक्सनको आर्थिक सहयोग, बी ग्रुप को सहजीकरण र नगरपालिकाको सक्रिय संयोजनमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले राजापुर नगरपालिका भित्रका ९ वटा समुदाय लक्षित गरेर काम गरिरहेको छ, जसले जलवायुजन्य जोखिमहरू न्यूनीकरण गर्ने विभिन्न उपायहरूलाई समुदायमै लागू गर्न खोजेको छ।
कार्यक्रम अन्तर्गत विशेष रूपमा विपद् पूर्वतयारी र विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरणमा जोड दिइएको छ। त्यसमा पनि, बाढीको जोखिम न्यूनीकरणका लागि स्वचालित साइरन प्रणाली जडान गरिएको छ, जसले बाढीको सम्भावित जोखिम देखिएमा पूर्व सूचनाको रूपमा साइरन बजाउनेछ।
यस प्रणालीले नदी किनारका बस्तीहरूमा रहेका समुदायलाई समयमै खबर दिने र सुरक्षित स्थानतर्फ जान पूर्वतयारी गर्न सहयोग पुर्याउनेछ। “हामीले कहिलेकाहीँ सूचना पाउँदैनौं, तर यो साइरनले घरमै बसेर पनि खतरा थाहा पाउने बनाउँछ,” राजापुर नपा ३, तिघ्राकी उर्मिला चौधरीले बताइन ।।त्यस्तै, बाढीको समयमा खेती गर्ने भूमि नष्ट हुने समस्या समाधान गर्न बगर खेती प्रवर्द्धन गरिएको छ। कार्यक्रमले बगर क्षेत्रमा विशेष प्रकारका बालीहरू उत्पादन गर्न सकिने भनेर तालिम, स्रोत र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
बाढी बीमामा ८७८ घरधुरी लाभान्वित
कार्यक्रमको अर्को महत्वपूर्ण अंश जलवायु जोखिम बीमा हो। स्थानीय सूचकांकका आधारमा ८७८ घरधुरीलाई बाढी बीमाको पहुँचमा ल्याइएको छ, जसमा बीमा प्रिमियमको ५० प्रतिशत रकम अनुदान स्वरूप दिइएको हो।
यसले विपद्का बेला क्षतिको भार समुदायले मात्र नभई साझेदारीमा वहन गर्न सकिने आधार बनाएको छ। “हामी पहिले बाढी आउँदा सबै कुरा गुमाउँथ्यौं। अब बीमाले थोरै भए पनि राहत दिन्छ,” राजापुर ४, संघर्षनगरका विनोद चौधरीले बताए ।
पूर्व सूचना प्रणालीको विकासमा विशेष जोड
कार्यक्रमका असल अभ्यास हरूमध्ये पूर्व सूचना प्रणाली को विकास तथा सुदृढीकरण प्रमुख मानिएको छ। बाढी आउने सम्भावनालाई समयमै पहिचान गरी रेडियो, साइरन, मोबाइल सन्देश लगायतका माध्यमबाट समुदायलाई सूचना प्रवाह गरिनेछ।यसले समयमै चेतावनी पाउँदा घरपरिवार, पशु चौपाया, कागजात तथा जीवन रक्षाको व्यवस्था गर्न सहज हुने अपेक्षा गरिएको छ।
समन्वय र सहभागितामूलक कार्यान्वयन
परियोजना स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन भइरहेको हुँदा समुदायको सक्रिय सहभागिता र सुझावलाई समेत महत्व दिइएको छ। परियोजनाले महिला, दलित, अपांगता भएका व्यक्ति लगायत सबै वर्गको सहभागिता सुनिश्चित गर्दै समावेशी दृष्टिकोणबाट कार्यक्रम सञ्चालन गरिरहेको छ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले कार्यक्रमलाई दीर्घकालीन प्रभाव पार्ने किसिमले अघि बढाइएको बताए। “सामाजिक, आर्थिक र वातावरणीय जोखिम घटाउन यसले आधार तयार पारिरहेको छ,” उनले भने।

निष्कर्ष
राजापुर नगरपालिका भित्र सञ्चालित जलवायु उत्थानशीलता कार्यक्रमले जलवायु परिवर्तनको प्रभावलाई समुदाय तहबाट सम्बोधन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। बाढी बीमा, पूर्व सूचना प्रणाली, बगर खेती जस्ता उपायहरूले स्थानीयहरूलाई सुरक्षित बनाउने र दीर्घकालीन जलवायु अनुकूलनमा टेवा पुर्याउने सम्भावना देखिएको छ।






















