राजापुर/ असारको सूर्य चर्किएको थियो। तर त्यसको तातो भन्दा बढी उत्साहले गर्मिएको थियो राजापुर नगरपालिका–३, रजपुरुवा मा रहेको बिष्णु चौलागाईको एउटा हरियो खेत। खेतको छेउछाउमा लोकगीत गुञ्जिरहेका थिए, र सयौँ हातहरूले माटोलाई चुँडाल्दै धान रोपिरहेका थिए। यो कुनै सामान्य रोपाईं थिएन — यो थियो कृषि, संस्कार र सन्देशको संगम, जहाँ नेकपा (एकीकृत समाजवादी) बर्दिया जिल्ला कमिटीले २२ औं राष्ट्रिय धान दिवसलाई उत्सवको रूपमा प्रस्तुत गर्यो।
साधारणतः नेताहरू भाषण गर्छन्, मञ्चमा उभिन्छन्। तर यो दृश्य फरक थियो। कार्यक्रममा सहभागी भएका केन्द्रीय सदस्य कौसिला सिंह ठकुरीदेखि जिल्ला अध्यक्ष बखत खड्कासम्म सबै नेताहरू आफ्नो जुत्ता फुकालेर माटोमा खुट्टा गाडेर धान रोपिरहेका थिए। सँगै गीत गाइरहेका थिए। उनीहरूका हातमा मोबाइल थिएन, तर माटो र बीउ थियो।
उक्त कार्यक्रममा केन्द्रीय अनुशासन आयोग सदस्य प्रेम पोखरेल, प्रदेश सदस्यहरू कमला घिमिरे, विकास जिसी, डि.बी. केसी लगायत थिए। सबैको उपस्थितिले यो दिनलाई केवल एक कार्यक्रम होइन, कृषि–चेतनाको जनआन्दोलन बनायो।
“धान मात्र होइन, चेतना रोप्न आएको हो”कार्यक्रममा सहभागी अधिकांश नेताहरूले एउटै स्वरमा भने, “हामी आज धान रोप्न मात्र आएका छैनौं, चेतना रोप्न आएका हौं।”
राष्ट्रिय धान दिवस अब केवल रोपाईंको दिन होइन, कृषकप्रतिको सम्मान र आत्मनिर्भर नेपालको बाटो बन्नुपर्छ भन्ने सन्देश दिन उनीहरू र स्थानीय जनताले साझा संकल्प लिए।
कार्यक्रममा रङ्गीन पोशाकमा सजिएका महिलाहरूले खेतमै लोकगीत गाउँदै नाच गरेका थिए। युवा पुस्ता उत्साहका साथ फोटो खिच्दै, भिडियो बनाउँदै, सामाजिक सञ्जालमा पोस्ट गर्दै थिए। परम्परागत संस्कृति र आधुनिक प्रविधिको समिश्रणले दिवसलाई झनै जीवन्त बनाएको थियो।























