
राजापुर/ राजापुर नगरपालिकाको शिक्षा नीती २०८१ र स्थानीय शिक्षा योजनाको मस्यौदा उपर सरोकारवालाहरु संग सुझाव सकंलन गरिएको छ । राजापुर नगरपालिकाको आयोजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलबस्तु तथा युनिसेफको साझेदारीमा सुझाव संकलन कार्यशाला आयोजना गरिएको थियो ।
शिक्षालाई मानवको तेस्रो आँखा तथा ज्ञानको ज्योति भनेर पनि चिनिन्छ । अझ वर्तमानमा शिक्षालाई व्यक्तिको आधारभूत अधिकारको रुपमा लिइन्छ ।नेपालको संविधानले नागरिकलाई आधारभूत तहसम्मको शिक्षा निःशुल्क पाउने मौलिक हकको व्यवस्था गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ११को २ (ज)मा आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी स्थानीय तहको २३ वटा काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ ।राजापुर नगरपालिकाले शैक्षिक विकास, पहूँच र व्यवस्थापनलाई अग्रस्थानमा राख्दै राजापुर नगरपालिकाको शिक्षा नीति २०८१ र स्थानीय शिक्षा योजनाको मसौदा तयार गरी सो का बारेमा सरोकारवालाहरु सित सुझाव संकलन गरिएको छ ।
शिक्षा विकास जस्तो पवित्र अभियानमा अगाडी बढ्दा आईपर्ने चुनौती तथा समस्याहरुलाई उचित तरिकाबाट समाधान गरी राजापुरको समग्र विकास गर्ने उद्देश्य यो ऐनको रहेको बताइएको छ ।
देशै भरी शैक्षिक क्षेत्रमा बेथिति भएको बेला राजापुर पनि यसबाट अछुतो नरहेको भन्दै राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले अबको दिनमा कसरी राम्रो गरेर जाने भनेर सोच्नु पर्ने बेला आएको बताउनु भयो । ‘हामी भन्दा नराम्रो अवस्था भएका विद्यालयहरु अहिले अव्वल भएका छन ।’ उनले थपे, ‘हामी पनि मेहनत गरौ ।’
विद्यालयतहका नियमित शैक्षिक कार्यक्रमका अतिरिक्त अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, विशेष शिक्षा, प्राविधिक शिक्षा, शिक्षाका अन्तर सम्बन्धीत मुद्दाहरु, विपद व्यवस्थापन, वातावरण व्यवस्थापन सँगसँगै शिक्षणमा समग्र सुशासन र व्यवस्थापनका पक्षहरुलाई समेटेर लैजानु पर्ने उपस्थित सरोकारवालाहरुले सुझाब दिएका थिए ।सो अवसरमा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, वडाध्यक्षहरु, नगर शिक्षा समितिका पदाधिकारीहरु, प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, शिक्षा विज्ञ लगायतको उपस्थिती थियो ।






















