बढैयाताल, बर्दिया । बढैयाताल गाउँपालिकामा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ ले जितेको छ। अषाढ ३ गते सम्पन्न फाइनल खेलमा वडा नं ४ ले वडा नं २ लाई पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको हो। उपविजेतामा वडा नं २ सीमित भयो।
बढैयाताल गाउँपालिका वडा नं ३ को आयोजनामा तथा माछापुच्छ्रे युवा क्लब, भोलागौडीको समन्वयमा जेठ २८ गतेदेखि वडा नं ३ स्थित खेल मैदानमा मैत्रीपूर्ण नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताको समापन अषाढ ३ गते एक कार्यक्रमका बीच सम्पन्न भएको हो।
प्रतियोगितामा बढैयाताल गाउँपालिका भित्रका नौवटै वडाका टोलीहरूको सहभागिता रहेको थियो। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ जीवनशैलीको विकास गर्ने तथा लागूऔषध दुर्व्यसन लगायतका कुलतबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडा नं ३ का अध्यक्ष लल्लन अहिरले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने वडा नं ४ को टोलीलाई नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय हुने वडा नं २ को टोलीलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुद गतिविधिको विकास तथा युवाहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।























