विज्ञापन

टीकापुरमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

Image

टीकापुर / कैलाली — टीकापुर नगरपालिका–६ नारायणपुरमा आजदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। वडा स्तरीय खेलकुद समितिको आयोजनामा भएको उद्घाटन सत्र समितिका संयोजक देव बहादुर बुढाठोकीको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु रहेका थिए। उनले दक्षिणी भेगका वडाहरू खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै युवालाई कुलतबाट जोगाउन खेलकुद निरन्तर आवश्यक रहेको बताए।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरी, वडा नं. ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना व्यक्त गरे। स्वागत मन्तव्य खेलकुद समितिका सल्लाहकार संयोजक नृप कडायतले दिएका थिए।

समितिका संयोजक बुढाठोकीका अनुसार प्रतियोगितामा टीकापुर नगरपालिकाका १६ टिमको सहभागिता छ। विजेता टिमले १ लाख १ हजार रुपैयाँ, उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक लगायत विधामा पनि पुरस्कृत गरिनेछ।

उद्घाटन खेलमा टीकापुर–३ र टीकापुर–६ ‘C’ बीच प्रतिस्पर्धा भएको थियो। खेलमा टीकापुर–६ ‘C’ ले १–० गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन