टीकापुर — टीकापुरमा आयोजना गरिएको मेयर अन्तर–विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि औपचारिक रूपमा शुरु भएको छ।
कार्यक्रम वडा नं। ७ स्थित कर्णाली माध्यमिक विद्यालय, सत्ती को आयोजना र सत्ती खेलमैदानमा शुभारम्भ गरिएको हो।
उद्घाटन समारोह कर्णाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा टीकापुर नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो।
समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य माननीय हरि ज्ञवाली ‘अखण्ड’ रहेका थिए।
उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले टीकापुरले पछिल्ला वर्षहरूमा खेलकुदमा ठूलो लगानी गरेको र यसको प्रतिफलस्वरूप यहाँका धेरै युवा राष्ट्रिय स्तरसम्म उक्लिन सफल भएको उल्लेख गरे।
युवायुवतीहरू कुलततर्फ आकर्षित हुने क्रम बढ्दै गएको वर्तमान अवस्थामा खेलकुदले राम्रो विकल्प र सुरक्षित दिशा दिन सक्ने भएकाले स्थानीय तहले यसलाई उच्च प्राथमिकतामा लिनुपर्ने धारणा उनले राखे।
आयोजक विद्यालयका अनुसार वडा नं। ६, ७, ८ र ९ का सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा दौड, सट–पुट, ज्याभलिन थ्रो, भलिबल लगायतका प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा पूर्ब नारायणपुर गाविस अध्यक्ष फकिर सिंह कडायत, धनसिंहपुरका पूर्व अध्यक्ष जंगबहादुर साउद, टीकापुर नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बलीराम चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक आपेन्द्र खडकाले गरेका थिए।
यसैगरी, वडा नं। १ देखि ५ का सामुदायिक तथा संस्थागत विद्यालयहरूको प्रतियोगिता भने टीकापुरस्थित बिरेन्द्र विद्या मन्दिरको खेलमैदानमा सुरु भएको छ।























