विज्ञापन

कर्णाली तल्लो जलाधारका पालिकाबीच बहुसरोकार मञ्चको बैठक, साझा समस्यामा संयुक्त पैरवी गर्ने

Image

राजापुर, बर्दिया । कर्णाली नदीको तल्लो जलाधार क्षेत्रमा पर्ने स्थानीय तहहरूबीच साझा समस्या समाधान, विपद् जोखिम न्यूनीकरण तथा जलाधारको दिगो व्यवस्थापनका लागि बहुसरोकार मञ्चबैठक बसेको छ ।

राजापुर नगरपालिकामा आयोजित छलफलमा राजापुर, मधुवन, टीकापुर र लम्कीचुहा नगरपालिका तथा गेरुवा र जानकी गाउँपालिकाका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा कर्णाली नदी तल्लो तटीय जलाधार बहुसरोकार मञ्चको कार्यसञ्चालन सम्बन्धी साझा छलफल समेत गरिएको थियो।

मञ्चमार्फत जलाधार क्षेत्रमा रहेका बाढी, डुबान, नदी कटान, जलवायु परिवर्तनजन्य विपद् तथा प्राकृतिक स्रोतको व्यवस्थापनजस्ता साझा समस्यालाई एकीकृत रूपमा अघि बढाउने र संघ तथा प्रदेश सरकारसहित सम्बन्धित सरोकारवालासँग संयुक्त रूपमा पैरवी गर्ने उद्देश्य राखिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताउनु भयो ।

त्यसैगरी, कुनै एक पालिकाले नदीजन्य स्रोतको प्रयोग गर्दा अर्को पालिकामा नकारात्मक असर नपर्ने गरी संयुक्त योजना र पैरवी गर्ने विषयमा समेत छलफल भएको छ। तल्लो कर्णाली जलाधार क्षेत्रका बासिन्दाको जीविकोपार्जन, स्वरोजगारी तथा सामाजिक–आर्थिक उत्थानमा योगदान पुर्‍याउने लक्ष्यसमेत मञ्चले राखेको प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्र बम ले बताउनु भयो ।

छलफलमा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोत तथा नदी प्रणालीको दिगो व्यवस्थापन, सामाजिक–आर्थिक उत्थानशीलता अभिवृद्धि तथा जलाधारस्तरीय योजना र लगानीका अवसरलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाटले जोड दिनु भएको थियो ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, उपप्रमुख मनकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा तथा विपद् फोकल पर्सन खुशीराम चौधरी सहभागी थिए। मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र उपप्रमुख अनिता चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नागर्ची तथा गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना र विपद् फोकल पर्सन कृष्ण सोडारीलगायतको सहभागिता रहेको थियो।

समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम बि गु्रप, स्विस रि फाउण्डेशन, प्राक्टिकल एक्सनको सहकार्य र राजापुर नगरपालिकाको आयोजनामा भएको जनाइएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन