राजापुर । निर्धन लघुवित्त वित्तीय संस्था लिमिटेड, राजापुर शाखाले आफ्ना एक सदस्यको मृत्यु पश्चात बीमा बापतको ५ लाख ८५ हजार रुपैयाँको चेक एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ।
राजापुर नगरपालिका वडा नम्बर ८ फत्तेपुर निवासी किसनी थारुको साउन ३० गते निधन भएको थियो। निधनपछि बीमा बापतको रकम प्राप्त गर्न ढिलाइ तथा झन्झट हुने भन्ने जनगुनासोहरू सुनिँदै आएका बेला, निर्धन लघुवित्तले प्रक्रिया सरल र पारदर्शी बनाउँदै छिटो रूपमा बीमा रकम भुक्तानी गरेको हो।
बीमा रकम हस्तान्तरण कार्यक्रम राजापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश थारुको रोहबरमा सम्पन्न भएको हो। कार्यक्रममा मृतकका परिवारजन, स्थानीय समाजसेवी, तथा निर्धन लघुवित्तका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राजेश थारुले पछिल्लो समय लघुवित्त संस्थाहरूले ग्रामीण तथा विपन्न समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले निर्धन लघुवित्तले समयमै बीमा रकम हस्तान्तरण गरेर सामान्य जनतामा रहेको अविश्वासलाई चिरेको उल्लेख गर्नुभयो। साथै, यस्तो पहलले पीडित परिवारलाई तत्काल राहत पुग्ने र वित्तीय संस्थाप्रति जनविश्वास बढ्ने धारणा राख्नुभयो।
कार्यक्रममा निर्धन लघुवित्तका क्षेत्रीय प्रमुख पूर्णबहादुर खड्काले संस्थाको करिब तीन दशक लामो इतिहास बारे चर्चा गर्नुभयो। उहाँले निर्धन लघुवित्तले हजारौं उद्यमी सिर्जना गर्न सफल भएको उल्लेख गर्दै, यस यात्रामा केही सदस्यहरू गुमाउनु परेको पीडादायी अनुभव पनि साझा गर्नुभयो। आफन्त गुमाएका परिवारलाई आर्थिक रूपमा सहारा मिलोस् भन्ने उद्देश्यले नै बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको उहाँको भनाइ थियो।
त्यसैगरी, निर्धन लघुवित्त राजापुर शाखाका प्रमुख खेमकुमार भण्डारीले संस्थाका सेयर सदस्यहरूलाई केवल सेवाग्राही मात्र नभई एउटै परिवारका सदस्यको रूपमा हेर्ने गरिएको बताउनुभयो। उहाँले बीमा कार्यक्रम अन्तर्गत प्राप्त हुने रकम, त्यसको प्रक्रिया तथा समयसीमाबारे जानकारी गराउँदै, सदस्यहरूको सुरक्षाका लागि लघुवित्त सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
मृतक किसनी थारुको परिवारले समयमै बीमा रकम प्राप्त भएकोमा सन्तोष व्यक्त गर्दै, कठिन परिस्थितिमा निर्धन लघुवित्तबाट प्राप्त सहयोगले परिवारलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन्।























