विज्ञापन

घिमिरे स्मृति कप क्रिकेट: अमर शहीद र जनता मावि पहिलो दिन विजयी

Image

सूर्य प्रसाद घिमिरे स्मृति कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ आज औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ। राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।

उद्घाटन सत्रपछि सम्पन्न पहिलो खेल अमर शहीद दशरथ चन्द माध्यमिक विद्यालय र लाइट एकेडेमीबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको अमर शहीद दशरथ चन्द माविले निर्धारित १२ ओभरमा ८ विकेटको क्षतिमा ७२ रन बनाएको थियो। ७३ रनको लक्ष्य पछ्याएको लाइट एकेडेमीले ११.३ ओभरमा सबै विकेट गुमाउँदै ५७ रन मात्र बनाउन सक्यो। सो खेलमा अमर शहीदका करण लोध ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्यस्तै दोस्रो खेल जनता माध्यमिक विद्यालय, गोला र अक्सिडेन्टल एकेडेमी, शान्तिपुरबीच सम्पन्न भएको थियो। पहिले ब्याटिङ गरेको अक्सिडेन्टल एकेडेमीले ९.१ ओभरमा ४० रन बनाएको थियो। ४१ रनको सामान्य लक्ष्य जनता माविले ८ ओभरमै पूरा गर्दै खेल जित्न सफल भयो। सो खेलमा जनता माविका शुभम कडायत ‘प्लेयर अफ द म्याच’ चयन भए।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल कालिका माध्यमिक विद्यालय र भेरी माध्यमिक विद्यालयबीच हुने छ भने दोस्रो खेल ग्रिन ग्लोबल र जनता माध्यमिक विद्यालयबीच हुने आयोजकले जनाएको छ।
विद्यालयस्तरका विद्यार्थीमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन