सामाजिक उत्तरदायित्वको भावना अनुरूप बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लि., गुलरिया बर्दियाले गुलरिया नगरपालिका–४ स्थित नारायणनाथ स्मृति आधारभूत विद्यालयलाई नयाँ अटो रिक्सा सहयोग गरेको छ।
जेठ २५ गते आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई अटो रिक्सा हस्तान्तरण गरिएको हो। वडा नं. ४ का वडा अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लिका संरक्षक शम्भु प्रसाद रिजाल, कार्यालय प्रमुख रमेश गौतम लगायत यातायात व्यवसायीहरूले संयुक्त रूपमा विद्यालयकी प्रधानाध्यापक सुसिला गिरीलाई अटो रिक्साको साँचो हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गौतमले विद्यालयको आवश्यकता र मागलाई सम्बोधन गर्दै निजी क्षेत्रले अटो रिक्सा उपलब्ध गराएकोमा कृष्णसार यातायात व्यवसायी प्रा.लिप्रति आभार व्यक्त गरे। उनले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यालयको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
विद्यालयकी प्रधानाध्यापक सुसिला गिरीले लामो समयदेखि रहेको विद्यालयको आवश्यकतालाई सम्बोधन गर्दै अटो रिक्सा उपलब्ध गराउन सहयोग गर्ने संस्था तथा व्यवसायीहरूलाई धन्यवाद दिइन्। उनले वडा कार्यालयको विशेष पहलमा प्राप्त उक्त सहयोगले विद्यालयमा विद्यार्थीको पहुँच बढ्नुका साथै विद्यार्थी संख्या वृद्धि हुने अपेक्षा रहेको बताइन्।
त्यसैगरी, बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लिका संरक्षक शम्भु प्रसाद रिजालले विद्यालयको आग्रह र अपेक्षाअनुसार सानो सहयोग गर्न पाएकोमा आफूहरू खुसी भएको प्रतिक्रिया दिए। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।























